बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि हावाहुरीको सम्भावना

आज दिउँसोपछि बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी पश्चिमी क्षेत्रका केही ठाउँमा हुरीबतास चल्न सक्ने सम्भावना देखिएको हो । त्यस्तै काठमाण्डौ उपत्यकामा पनि सामान्य हावाहुरी चल्न सक्ने महाशाखामा मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

मौसमविदका अनुसार काठमाण्डौ उपत्यकामा तापक्रम ३०र३१ डिग्री सेल्सियससम्म रहने र तल्लो वायुमण्डलमा तातो र ओसिलो हावाबीचको सम्मिश्रणका कारण हावाहुरीको जोखिम देखिन्छ । वर्खा शुरु हुनुभन्दा अघि चैत, वैशाख र जेठसम्मको समयमा प्रि–मनसुनी गतिविधि हुन्छन् । यो बेला मेघगर्जनसहित पानी पर्ने, चट्याङ पर्ने, हावाहुरी चल्ने हुन्छ ।

अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी केही क्षेत्रमा मौसम आंशिक बदली छ । बाँकी भागमा मौसम सफा नै छ ।

आज दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ । एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.