बैतडीका जोशी बने गृह मन्त्रालय उत्कृष्ट कर्मचारी

मेलौली न्यूज
भाद्र २२ बुधबार,२०७९

बैतडी–निजामती सेवा दिवस २०७९ को अवसरमा दोगडाकेदार गाउँपालिका–३, बैतडीका नवराज जोशीलाई गृह मन्त्रालयले वर्ष २०७९ सालको उत्कृष्ट कर्मचारीको रुपमा छनोट गरेको छ । गृह मन्त्रालय सिंहदरबारमा कार्यरत नायब सुब्बा जोशीलाई उत्कृष्ट कर्मचारीका रुपमा छनोट गरी नगद पुरस्कारसहित सम्मान गरेको छ ।

निजामती सेवा दिवस २०७९ को अवसरमा गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले प्रशंसा–पत्र र नगद १० हजार रुपियाँसहित जोशीलाई पुरस्कृत गर्नुभएको हो ।
रिएको हो ।

२०७३ सालमा नायब सुब्बा पदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट निजामती सेवामा प्रवेश गरेका जोशी आयोगमा रहँदा इमानदारिता, लगनशीलता एवं दक्षतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत सम्मानित भइसक्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र शिक्षा विभागमा सर्वोत्कृष्ट अंकका साथ स्नातकोत्तर सम्पन्न गरेका जोशीले त्रिभुवन विश्वविद्यालयबाटै राजनीतिशास्त्रमा समेत स्नातकोत्तर सम्पन्न गरिसक्नुभएको छ ।

कानूनका समेत विद्यार्थी रहेका जोशी अध्ययन, अध्यापनका साथै अनुसन्धानमूलक लेख, रचनामा रुची राख्ने गर्नुहुन्छ । जोशीका दर्जनौं लेख रचनाहरु विभिन्न पत्रपत्रिका तथा जर्नलहरुमा प्रकाशित भइसकेका छन्।

जोशीले गृह मन्त्रालयमा रही इमानदारिता, लगनशिलता एवं दक्षतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरी गृह मन्त्रालयमा पु¥याउनुभएको योगदानको कदर गर्दै गृह मन्त्रालयले वर्ष २०७९ सालको उत्कृष्ट कर्मचारीको रुपमा छनोट गरेको हो ।

Leave A Reply

Your email address will not be published.